मण्डली स्थापना भएदेखि नै आत्मिक वृद्धि र विश्वासको सामूहिक अभ्यासका लागि घरेलु संगति (House Fellowship) सेवा निरन्तर सञ्चालनमा रहँदै आएको छ । प्रारम्भमा केही सीमित स्थानहरूमा सुरु गरिएको यो सेवा आज विभिन्न क्षेत्रहरू — Abu Dhabi, Tourist Club area, Electra Street, Khalidiya, Baniyas, Shabia, MBZ, Musaffah, ICAD, Shahama, China Camp, Mission Centre लगायतका ठाउँहरूमा फैलिसकेको छ । हाम्रो मण्डलीले घरेलु संगति सेवालाई विशेष प्राथमिकता दिँदै आएको छ । परमेश्वरको अनुग्रहले हालसम्म विभिन्न स्थानहरूमा घरेलु संगति सेवाहरू निरन्तर सञ्चालनमा छन् ।
प्रत्येक घरेलु संगति स्थानमा हप्ताभरि बाइबल अध्ययन, चेलापन तालिम, प्रार्थना, आराधना सङ्गति, आत्मिक गवाही, र भाइचारा सङ्गतिका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । आत्मिक परिपक्वता र वचनको गहिरो ज्ञानका लागि विषयगत बाइबल अध्ययन तथा प्रशिक्षण कार्यक्रमहरू विशेष प्राथमिकताका साथ सञ्चालन हुँदै आएका छन् ।














घरेलु संगति स्थानहरूमा जन्मदिन, Marriage Anniversary, पारिवारिक परामर्श, उपवास प्रार्थना, मण्डलीका समर्पित अगुवा, र सदस्यहरूको प्रार्थना र योगदानद्वारा यी सेवाहरू निरन्तर विस्तार भइरहेका छन् ।
घरेलु संगति स्थानहरूमा परिवार तथा छिमेकीहरू सहभागी भई परमेश्वरको वचन सुन्ने, साझा प्रार्थना गर्ने, अनि आफ्नो व्यक्तिगत गवाही बाँड्ने अवसर पाइरहेका छन् । यसले मण्डलीमा आत्मिक एकता, प्रार्थनाको सङ्गति र नेतृत्व विकासमा ठूलो योगदान पुर्याइरहेको छ ।
यसबाहेक, हरेक महिनाको निश्चित दिनमा दिदीबहिनीहरूको सारारात प्रार्थना हुने गर्दछ, र मण्डलीको पास्टर, एल्डर, डिकन र अगुवाहरूको महिनाको पहिलो हप्ता सारारात प्रार्थना भइरहेको छ । जसले आत्मिक गहिराइमा प्रवेश गर्ने अवसर प्रदान गरिरहेको छ ।
घरेलु संगति सेवा आज पनि आत्मिक शिक्षाको सशक्त माध्यम बनेको छ । चेलापन तालिमले नयाँ विश्वासीहरूलाई ख्रीष्टियन जीवनको आधारभूत शिक्षाबाट अगाडि बढ्न प्रेरित गरिरहेको छ । बाइबल अध्ययनमार्फत विश्वासमा गहिरो जरा गाड्ने कार्य भइरहेको छ, र समुदायभित्र एकआपसमा प्रेम र सहकार्यको भावना अझ बलियो बनिरहेको छ ।
हालसम्मको यो यात्रा परमेश्वरको योजना र विश्वासीहरूको प्रार्थना, समर्पण र सेवाको फलस्वरूप निरन्तर अघि बढिरहेको छ । हामी विश्वास गर्छौं, आगामी दिनहरूमा पनि प्रभुले यस सेवामार्फत अझ धेरै आत्माहरूलाई छुनेछ र उहाँको राज्य अझ विस्तार हुनेछ ।
– सम्पूर्ण महिमा हाम्रो प्रभु येशू ख्रीष्टलाई होस् ।
परमेश्वरको अनुग्रह अनि आशिषले यस नव जागृति नेपाली मण्डलीको घरेलु सेवा सङ्गतिमा कहिल्यै पनि रुकावट, बाधा–विघ्न आएन । परमेश्वरलाई हृदय खोलिकन धन्यवाद चढाउँदछौं । सुरुवाती दिनहरूमा मण्डलीको घरेलु सेवा सङ्गति एक, दुई ठाउँमा मात्र हुने गर्दथ्यो । जसरी परमेश्वरले आफ्ना जनहरूलाई आशिषले भरिपूर्ण पार्दै जानुभयो त्यसरी नै मण्डलीमा विश्वासी जनहरू र नयाँ आत्माहरू बढ्दै जान थाले । परमेश्वरले भन्नु भएको छ मत्ती १८:२० पद अनुसार “जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूको माझमा हुने छु ।” साँच्चै नै परमेश्वरको आशिष अनि अनुग्रहले अहिले आएर मण्डलीको घरेलु सेवा सङ्गति, दिदीबहिनी सङ्गति, प्रार्थना सङ्गति, सारारात प्रार्थना सङ्गति, दैनिक साँझको प्रार्थना सङ्गति ठाउँ–ठाउँमा हुँदै आइरहेको छ ।
परमेश्वरले भन्नुभएको छ हिब्रू १०:२५ पद अनुसार “कति जनाको सङ्गति नगर्ने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं, तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेकाले एकले अर्कालाई झन् प्रोत्साहन दिऔं ।” यही प्रभुको आज्ञा अनुसार घरेलु सङ्गतिबाट एकआपसमा प्रेम, हौसला, प्रोत्साहन, साथै एउटै हृदय भएर परमेश्वरलाई महिमा, प्रशंसा र आराधना चढाउँदछौं । हप्ता दिनभरि पाएका आशिषहरू एकआपसमा बाँडेर परमेश्वरलाई धन्यवाद चढाउन पाउँदा अति धन्यको ठान्दछौं ।
धेरै दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो कामको कारणले मण्डलीको आराधना सङ्गतिमा जान पाउनु हुन्न । उहाँहरू पनि यहाँको घरेलु सङ्गतिमा आएर धेरै आशिषित भएका र परमप्रभु परमेश्वरको डर अनि भयमा हिँड्न, र परमेश्वरसँग अति नजिक र आत्मिक वृद्धि भएको गवाही र आशिष बाँड्नु हुन्छ । यसरी नव जागृति नेपाली मण्डलीको घरेलु सेवा सङ्गति, दिदीबहिनी सङ्गति, प्रार्थना सङ्गतिहरू विभिन्न ठाउँहरूमा भएका केही झलकहरू तल हेर्न सकिन्छ ।
